कोरिया : गगनचुम्बी महल र चिल्ला सडकमा मात्र सीमित छैन

नेपाली युवामाझ दक्षिण कोरिया आकर्षक श्रम गन्तव्य हो। आकर्षण बढ्नुमा कमाइ र निष्पक्ष छनोट प्रक्रिया मुख्य हो। दक्षिण कोरियामा करिब १० लाख विदेशी कामदारमध्ये इपिएस पास गरेर आउने झन्डै २ लाख ६० हजारमध्ये करिब ६० हजार नेपाली छन्।

कोरियाली भाषा पास गरेर रोजगारदाताका रोजाइमा पर्न सफल भए सजिलै कोरिया आउन सकिन्छ। दक्षिण कोरियाले विभिन्न माध्यमबाट वर्षभर विदेशी कामदार लिने गर्छ। त्यसमध्ये इपिएस एक हो।

सन् २००४ देखि लागू भएको भाषा परीक्षा निष्पक्ष र पारदर्शी मानिन्छ। भाषा परीक्षा प्रणाली नभएको भए नेपाली युवाले अहिले पनि यहाँ आउन सायद १५–२० लाख बुझाउनुपथ्र्यो । अन्य देशमा रोजगारीका लागि निःशुल्क भिसा र हवाई टिकट भनिए पनि लाखौं तिरेर जानुपर्ने अवस्था अझै छ ।

कोरियामा काम गर्न भने सहज छैन। पहिलो कुरा, कोरियामा इपिएसबाट कामदार ल्याउने भनेको कोरियाली जनताले गर्न नमानेका र गाह्रा, फोहोर, खतरनाक कामका लागि हो।

अर्को, कोरियामा इपिएसमा सबै अधिकार रोजगारदातालाई दिइएको छ। विदेशी कामदारले बिरामी पर्दासमेत छुट्टी पाउन मुस्किल छ। रोजगारदाताले जसरी पनि थोरै समयमा धेरै काम लिन खोज्छन्। तीन वर्षमा तीनपटक कार्यस्थल फेर्न पाउने भनिए पनि त्यो सजिलो छैन। विदेशी कामदारलाई आफुखुसी कार्यस्थल परिवर्तन गर्न दिइँदैन।

अहिले कोरिया जाने आसमा धेरै युवा भाषा परीक्षा तयारी गरिरहेका छन्। नेपालमै रोजगार पाउने भए विदेशिनुपर्ने बाध्यता हुँन्नथ्यो। कमाइ पनि कोरियामा अन्य मुलुकभन्दा राम्रो छ। तर, पैसा छ भन्दैमा यहाँको बारेमा नबुझी आउनु राम्रो होइन। यहाँ धेरै युवा कामको प्रेसर र अन्य कारणले डिप्रेसनबाट गुज्रिएका पनि छन्।

नेपालबाट हेर्दा यहाँ बस्ने साथीले फेसबुकमा गगनचुम्बी भवन र चिल्ला सडकका तस्बिर राखे पनि यथार्थ त्यसमा सीमित छैन। हो, कोरिया विकसित देश हो र यहाँका सहर हरभरा र झकिझकाउ छन्। तर, यहाँ आउने धेरै विदेशी कामदारले वर्षौ सहर नदेखेका पनि छन्। एकदम दूरदराजमा एक्लै काम गर्नुपर्ने अवस्था पनि हुनसक्छ। तसर्थ, कोरिया गएर जस्तोसुकै परिस्थितिमा पनि काम गर्छु भनेर उच्च साहस बोकेर आउँदा राम्रो हुन्छ।

नेपालमा कोरियन भाषा सिकाउने विभिन्न भाषा केन्द्र छन्। तिनले कोरियनको भाषा सिक्न आउनेलाई वास्तविकता बताउनुपर्छ । तर, धेरैजसो केन्द्र पैसा कसरी कमाउने भन्नेमै सीमित छन्। तिनले कोरियाको सकारात्मक पक्षमात्र सुनाउँछन्, वास्तविक जानकारी दिइँदैन।

पूर्वजानकारी नहुँदा धेरै नेपाली कोरिया आएपछि तनावमा हुन्छन्। भाषा सिकाउने केन्द्रले कोरियन भाषा सिक्न आउनेलाई सुरुमै वास्तविकता जानकारी गराउनुपर्छ।

एक बंगाली साथीले हालै एउटा कुरा भनेका थिए । बंगलादेशमा कोरिया पठाउनुअघि कामदारलाई कोरियाका बारेमा प्रशिक्षण दिइन्छ। कार्यस्थलमा हुने सम्भावित व्यवहार, नियम कानुन लगायतबारे भिडियोसहित प्रशिक्षण र अन्य जानकारी गराइन्छ। साथै, कामको अभ्यास पनि गराइन्छ। यस्तो प्रशिक्षण हाम्रा लागि पनि अनुकरणीय हुनसक्छ।

कोरिया जान चाहनेले ठूलै सपना बोकेर गएका हुन्छन् । तर त्यहाँ पुगेपछि वास्तविकतासँत लड्नुपर्ने हुन्छ। कतिपय अवस्थामा छिमेकीको छोराले अलि बढी पैसा पठायो भने त्यसले कामदारमाथि त्यत्तिकै तनाव हुने गर्दछ।

अर्को कोरियामा तलब वृद्धि हुँदा अत्यधिक प्रचार गरिन्छ नेपालमा, मानौं नेपालीको औसत तलब ३ लाख रूपैंयाँ हुनेजस्तो प्रचार गरिन्छ। त्यति कमाउने केही नेपाली भए पनि बचाउन निक्कै कठिन हुन्छ।

नेपालमा भाषा सिकाउने केन्द्रले ‘कोरिया गएर करोड कमाउनुस्’ भनेजस्तो सबै करोडपति हुन्छ भन्ने होइन। कति प्रवासी कामदार ६ महिनासम्म तलब नपाएर बिचल्ली परेका पनि छन्।

सबै कुनै न कुनै सपना बोकेर कोरिया आएका हुन्छन्। केहीका सपना पूरा होला, कसैका पूरा नहुन पनि सक्छ। आफूले कति आर्जन गरिराखेको छ, त्यत्तिमै सन्तुष्ट हुन सक्यो भने दुःख पाइँदैन।

कोरियामा काम लागेपछि गर्नुपर्ने अर्को काम भनेको कोरिया प्रवासी श्रमिक युनियनमा सक्रिय हुनु हो, जसले प्रवासी श्रमिकका हकहितका लागि कोरिया सरकारलाई खबरदारी गर्छ।

उक्त मजदुर युनियनकै कारण हामी भाषा परीक्षा दिएर कोरिया जान पाइराखेका छौं। अन्यथा, अहिले पैसा तिरेरै कोरिया जानुपर्ने अवस्था हुन्थ्यो होला। अथवा, जान पाए पनि श्रमिकको अधिकार पाउँदैनथ्यौं होला। तसर्थ, श्रमिकका हक हितका लागि कोरियन प्रवासी मजदुर संगठनमा आबद्ध हुनु राम्रो हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *