एउटा छोरो नेपालमा, अर्को अमेरिकामा बितेपछि….

काठमाडौं । भूकम्पले होस् वा अरु कुनै दुर्घटना, मानिसको परिवारमा आइपर्ने शोकले भवितव्य बोकेर ल्याउँछ । र, कहालिलाग्दो शुन्यतासँगै वियोगान्त त्राशदि छाडेर जान्छ । भनिन्छ, भवितव्यलाई टारेर टार्न सकिँदैन । तर, शोकलाई शक्तिमा बदल्नुको अर्को विकल्प हुँदैन ।

विष्णु गौतमको परिवारमा पनि एकपछि अर्को वियोगान्त भवितव्य आइलाग्यो । तर, उनीहरुले शोकलाई एउटा अदम्य साहसमा बदले । साहस शक्तिमा रुपान्तरण भयो । हामी यहाँ यिनै उदाहरणीय बुबा-आमाको वियोगान्त कथा प्रस्तुत गर्न लागिरहेका छौं-

पहिलो त्राशदी

रातको साढे नौ बजिसकेको थियो । विष्णु गौतमका आँखा टेलिभिजनको स्क्रिनमा थिए । हातले मोवाइल समाए र छोरासँग वार्ता गरे- बाबु छिटो खाना खान आउँ ।

ड्याडी म दीप (दीप श्रेष्ठ) दाइसँग अफिसमा छु । उहाँलाई घर पुर्‍याएर फर्कन्छु ।

छोरा कुमार गौतम चीनबाट फर्किएको दुई दिन भएको थियो । २८ वर्षका कुमार चीन, सिंगापुर, हङकङ गइरहन्थे । उनी त्यहाँबाट पर्यटकहरु ल्याउँथे । बुबा विष्णु ट्राभल व्यवसायी थिए । छोरा उनको व्यवसायका ठूलो खम्बा ।

चीनबाट फर्किएलगत्तै पर्यटकलाई माउण्टेन फल्याइट व्यस्त भए कुमार । अफिसको जम्काभेटमा बाबासँग टाढैबाट हात हल्लाएका थिए, ‘हाई ड्याड ।’ यत्ति थियो छोरासँगको भेट । त्यसैले, विष्णु छोरासँगै बसेर खाना खानका लागि आतुर थिए । करिरहेका थिए टीभी हेर्दै ।

फेरि छोराको फोन आयो – ड्याड, मैले दाइलाई छोडिसकेँ, अब फर्कंदैछु है ।

३० मिनेट भयो छोरा आउँदैनन् त ! विष्णुले फेरि फोन लगाए । फोन लागेन । प्राधिकरण बोल्यो, ‘माफ गर्नुहोला तपाईले सम्पर्क गर्नुभएको मोवाइलको स्वीच अफ गरिएको छ ।’ उनले हतार-हतार अर्को नम्बरमा हाने, ‘त्यो नम्बरबाट पनि उस्तै जवाफ आयो ।’

दुवै मोवाइल स्वीच्ड अफ !

बाध्यात्मक परिस्थितिमा मात्रै कुमारका दुईवटा मोवाइल स्वीच्ड अफ हुन्थे । फोनमा बढी काम हुन्छ त्यसैले, ब्याट्रीकै कारण कोहीसँग सम्पर्क नछुटोस भनेरै उनले दुईवटा मोवाइल बोकेका थिए । उसो त ट्राभलको व्यवसाय, रातभर पनि मोवाइल चालु हुनुपर्थ्यो ।

विष्णु सोफामा पल्टिएर टेलिभिजन हेरिरहेका थिए । श्रीमती ओच्छ्यानमा थिइन् । विष्णुको मनमा चिसो पस्यो ।

१० मिनेट नपुग्दै कान्छो छोरा मन ढक्ढक्याउन आइपुगे । विष्णुले ढोका उघार्नासाथ छोराले भने, ‘ड्याड तपाईको फोन !’

विष्णुले आफ्नो कोठामा नभएर कुमारकै कोठामा ल्याण्डलाइन राखेका थिए । किनकि बढी क्लाइन्टसँग कुमारले नै डिल गर्थे । विष्णुको निकै ठूलो ढाडस बनेका थिए, कुमार ।

विष्णुले कान्छा छोरालाई सोधे- ‘कसले गरेको फोन ?’

छोराले जवाफ फर्काए, ‘प्रहरीले ।’

विष्णुले दौडँदै फोन उठाए । उताबाट आवाज आयो- ‘तपाईको छोरा दुर्घटनामा पर्नुभएको छ, आउनुहोला ।’

विष्णुले घरबाट मोटरसाइकल निकाले । छोरालाई पछाडि राखे र हुइँकिए । घरबाट निस्किएको एकाध मिनेट नपुग्दै छोरालाई भेटिहाले ।

चकमन्न अँध्यारो । एयरपोर्टको त्यो सिधा बाटो । गाडी पोलतर्फ धसिएको थियो । प्रहरीले पहेंलो रिवन बाँधेर नापजाँच गर्दै थिए ।

अहिले पनि विष्णु त्यो दृश्य झल्झली सम्झन्छन्- ‘हाइट फिगरको छोरा । गोरो छाला भएको । त्यहाँ रक्तरञ्जित थियो । रगतको आहालमा डुबिरहेको । त्यो देख्नेवित्तिकै मेरो मनमा ठ्याक्क चेञ्जेज आयो । आँखाबाट आँशु पनि झरेनन् । सायद म विपश्यनाको विद्यार्थी भएकाले हो कि ? विपश्नाले सबैलाई समभावले हेर भन्छ । मलाई लाग्यो कि कुनै एउटा समस्याको व्यवस्थापन गर्नु छ ।’

विष्णु घर फर्किए र आफ्नो दाइलाई उठाएर गाडी झिके । यति राति बोलाएपछि दाइहरुले सोधे, ‘किन यतिबेला ?’

विष्णुले एक सेकेन्ड पनि नसोची जवाफ दिए, ‘कुमारको डेथ भयो अब टिचिङ जानु छ ।’

माथि उक्लिएर श्रीमतीलाई भने, ‘कुमारको खुट्टा भाँचिएछ, हामी हस्पिटल पुगेर आउँछौँ ।’

उनी फेरि घटनास्थलमा पुगे । प्रहरीले शव वाहन मगाइदियो ।

छोराको मृत्युबारे सुनाउँदै गर्दा विष्णुको अनुहार अँध्यारो बन्यो । ‘त्यतिबेला पनि ड्राइभरले भन्यो- सर पेट्रोल छैन । मैले एक हजार फालिदिएँ’ विष्णु भन्छन्- मानिस त्यतिसम्म सम्वेदनहीन पनि बन्न सक्दोरहेछ ।’

शव वाहन बाटो लाग्यो । विष्णुहरु पछिपछि ।

गाडीबाट कुमारलाई निकालियो । विष्णु ट्रलीको नजिकै पुगे, एकछिन छोराको अनुहार हेरे । प्याट्ट गालामा हान्दै भने, ‘बाई कान्छु, फर इभर !’

घर फर्किनेवित्तिकै विष्णुलाई श्रमतीले सोधिन्, ‘आज आएन कुमार ?’

‘अब कहिल्यै पनि आउँदैन’, विष्णुले एकछिन पनि नसोची भनिदिए । श्रीमति थचक्क बसिन् रुन थालिन् । ‘अब बालाई कसरी भन्ने…।’

७८ वर्षका विष्णुका बा हर्ट अट्याकले ढले ।

बलु अर्थात माइला छोरा बलरामलाई विष्णुले पनि यो खबर सुनाउन सकेनन् । जसले अमेरिकामा भर्खरै अध्ययन सकेका थिए । अमेरिकामै भएका बलरामका साथीलाई भन्न लगाए । यो खबर सुनेर बलराम पनि मुर्छित भए ।

लड्खडाउँदै उठ्ने प्रयास

कुमारको मृत्यु भएको १३ दिन बित्यो । विष्णु काममा फर्किए । उनलाई बारम्बार हिर्काउन थाल्यो छोराको सम्झनाले ।

नेपालको नम्बर वान ट्राभल थियो उनको । त्यही ट्राभलको अफिसमा बेलुकी कुमार सोफामा बस्थे र बाबाको खुट्टामाथि खुट्टा राखेर भन्थे, ‘आ बाबा थाकेँ ।’ कहिले जिस्कँदै बाबाको गाला टोक्न पुग्थे । विष्णु भन्थे, ‘अब विहे गरेर बुढीको गाला टोक्ने !’

कुमार विष्णुका छोरा मात्रै थिएनन्, मित्र थिए, सहयात्री थिए । कुमारले २० वर्षमै आफ्ना बाबाको अफिस सम्हाल्न थालेका थिए ।

छोराकै सल्लाहमा विष्णुले नयाँ प्रोजेक्ट पनि शुरु गरेका थिए । काभ्रेको पाँचखाल डाँडामा रिसोर्ट । जसका लागि उनले पुरै डाँडो खरिद गरेका थिए । विष्णुले आफ्ना गेस्टहरुलाई फाइभ स्टार होटेलमा राख्नुपथ्र्यो । त्यसैले छोरासँगको सल्लाहमा रिसोर्टको योजना ल्याएका थिए ।

त्यतिबेला युवाहरु बाहिर जाने लहर चल्न थालेको थियो । त्यसैले मैले गाउँमा केही काम गर्नुपर्छ भन्ने सोच बनाएको थिएँ’, विष्णुले रिसोर्टको योजना सम्भिmए ‘हाम्रो पैसा बाहिर गइरहेको थियो । त्यसैले मैलेँ, आवश्यक सबै खानेकुरा त्यही उत्पादन गर्ने, मासुहरु पनि गाउँकै प्रयोग गर्ने गरी रिसोर्टको योजना बनाएँ । यति भएपछि एक त गाउँलेले रोजगारी पाए, अर्को गाउँलेको व्यवसाय पनि बढ्ने भयो । टुरिस्ट पनि पुग्ने भए ।’

यही सोचेर उनले एक करोड ३६ लाख रुपैयाँमा पुरै डाँडो नै खरिद गरेका थिए । विष्णुले खरिद गरेपछि मानिसहरु भन्दै थिए, ‘यो बौलायो । पैसा धेरै भएर मात्तियो ।’

तर, विष्णुले डिजाइन गर्न थाले । ३६ वटा ब्लक तयार पार्दै थिए, त्यो पनि निकै पृथक डिजाइनमा । माछा पालनदेखि सागसब्जी त्यही माटोमा फलाउन थाले । गार्डेन बनाए । पानीका धाराहरु व्यवस्थित गरे । निकै सुन्दर देखिन थाल्यो त्यो डाँडाँ । फेरि तिनै गाउँलेले भन्न थाले, ‘बुद्धि भनेको त यस्तो पो !’

पुत्रवियोगले विच्छिप्त विष्णु त्यही निर्माणधीन ब्लकको रेखदेख गर्न जान्थे । कहिले त्यहीँ सुत्थे । उनी भन्छन्, ‘जब म वाइक स्टार्ट गथेर्ं, मेरो आँखामा झल्झली छोरा आउँथ्यो । म यति धेरै रुन्थेँ कि आशुले अण्डरवेयर समेत लुछुप्पै हुन्थ्यो । तर, त्यो मेरो भत्पति पोलेको छाती र आँशु अरु कसैलाई देखाइनँ ।’

उनी ल्यापटपमा छोराको फोटो हेर्दाहेर्दै निदाउँथे । सपनामा पनि छोरालाई नै देख्थे । तर, उनलाई परिवारका अगाडि रुने छुट थिएन । नत्र परिवारलाई कसले सम्हाल्ने ?

विष्णुले मन बहलाउन अमेरिकामा रहेका बलरामलाई फोन गरिराख्थेँ । बलरामले युनिभर्सिटी टप गरेरै ग्रायजुएसन सकिसकेका थिए । विष्णुले फोनमा छोरालाई भन्थे, ‘बाबु म गलिसकेँ अब । तिमी नेपाल फर्किएर बिजनेस सम्हाल । मेरो आशाको केन्द्र भनेकै तिमी हौ । चाँडै आउ बाबु ।’

यस्तै यस्तैमा नौ महिना बित्यो । नौ महिनापछिको एक दिन…

दशैँ नजिकिँदै थियो । उनले अक्टोबर एकमा छोरा बलरामलाई फोन गरेका थिए । अक्टोबर फर्स्टमा बलराम बाबाको व्यवसाय हेन्डल गर्न नेपाल आउँदै थिए ।

तीन, अक्टोवर २००९ । दशैं लागिसकेको थियो । विष्णुले रिसोर्टका ११ जना स्टाफलाई तलव दिए । बोनस दिए । छुट्टी दिए । र, घरमा फोन गरे, ‘आज म रिसोर्टमै बस्छु ।’

र, उनी माछालाई दाना लिन पुगे । माछालाई कुखुराका आन्द्रा चाहिने । विष्णु, दाना लिन हिँडे । त्यहीबेला उनको नयाँ मोटरसाइकलको चेन चुँडियो । विष्णु चकित परे, ‘नयाँ मोटरसाइकलको चेन कसरी चुँडियो ?’

त्यहीबेला मोवाइलमा छोराको फोन आयो । विष्णुले भने, ‘मोटरसाइकल बनाएपछि फोन गर्छु ।’

त्यतिबेला अमेरिकाको घडीले रातको साढे १२ बजाएको हुँदो हो । रिसोर्ट पुगेपछि विष्णुले कल गरे, उठेन । उनलाई लाग्यो, ‘अब त निदाइ पनि सक्यो होला ।’

खान दिन्छ भन्दै गाउँका बच्चाहरु उनीसँग झुम्मिएका थिए । उनले साबुन दिँदै भने, ‘जाओ नुहाओ ।’ तर, एकजना बच्चाले नुहाउन मानेन । उनले भने किन ननुहाएको । के भो त ? बच्चाले भन्यो, ‘भिज्छ नि ।’

उनले हाँसो खटाउन सकेनन् । हाँस्दै भने, ‘तलमाथिको एउटै हो ।’

विष्णु नोष्टााल्जिक बन्छन्, ‘त्यो ९ महिनामा त्यो नै मेरो पहिलो हाँसो थियो । यति धेरै हाँसेको थिएँ कि जिन्दगीमा त्यसरी कहिल्यै हाँसेको थिइनँ होला ।’

त्यसपछि उनी ध्यानमा बसे । कुमारको मृत्युपछि उनले कहिल्यै पनि ध्यानमा आफूलाई केन्दि्रत गर्नै सकेका थिएनन् । उनी सम्झन्छन्, ‘त्यो दिन पुरै एक घण्टा मेडिटेसन बसेँ । बसिरहेका बेला ‘बा’ भन्दै जेठो छोरा कुमार झ्यास्स आयो । म जुरुक्क उठें । मुटुमा नराम्ररी चोटपर्‍यो ।’

र, पनि साँझ केही खाएर उनी सुते ।

अर्को त्रासदी

रातको ११ बजे विष्णुलाई भान्जाको फोन आयो । उनी गेटमा पुगे, त्यहाँ गाडी थियो । भाञ्जाले तपाई काठमाडौं जानुपर्‍यो भन्दै गाडीमा बसाले । विष्णुलाई कसैको मृत्यु भएको बुझ्न गाह्रो परेन । छोरालाई एकपटक फोन गरौँ कि भने तर, मोवाइलमा पैसा थिएन । त्यतिबेला अमेरिका फोन गर्दा मिनेटको १२० रुपैयाँ लाग्थ्यो । मोवाइलमा १८० रुपैयाँ रहेछ ।

बाहिर बाटोमा निस्किएपछि बुढाबढी, बच्चाहरु लाइन लागेर उभिएका देखिए । बाहिर टहटह जून लागेको थियो । सबैतिर उज्यालो थियो । आकाशतर्फ हेरे, छ्यांग खुलेको थियो । गाडीमा चढेपछि भाइले भने, ‘भाउजूलाई हस्पिटल लगेका छौँ ।’ उनले झ्यालको सिसाबाहिर हेर्दै भने, ‘के यातना दिइरहेको छस् ।’

विष्णु सवार गाडी धुलिखेल कटिसकेको थियो । विष्णुको फोन बज्यो । भतिजीको रहेछ ‘हामीलाई कस्तो दशा लागेको है बा ।’

विष्णुले भने, ‘अँ ।’

‘हेर्नु त बाला दाइ पनि !’, भतिजीले झ्याप्पै भनिदिइन् । विष्णुको हातबाट फोन खस्यो । उसैगरी झ्यालतिर हेरै अनि थुके थु… …।

घरमा आएपछि परिवारलाई सरसर्ती हेरे । श्रीमती, छोरी, बाबा सबै बेहोस थिए । डाक्टरहरु आएर उपचार गर्दै थिए । उनको मन थिरमा थिएन । उनको आँशु मात्र खस्न सकेको छैन, ‘उता छोरा बेहोस् छ, घर यस्तो हालतमा खै त्यो परिस्थिति कसरी सम्हाले, अहिले सोच्दा पनि कहाली लाग्छ ।’

अमेरिकामा रहेका बलराम राष्ट्रिय निकुञ्जको क्षेत्रमा गाडी हाँक्दै थिए । बाटोमा मृग आइपुग्यो । त्यस्तो बेला मृगलाई हान्नुपर्ने हुँदोरहेछ । तर, उनले मृगलाई तर्काए । तर, गाडी चिप्लियो । आफैंले हाँकिरहेको गाडीले नै किचेपछि २६ वर्षीय बलराम कहिल्यै नउठ्ने गरी निदाए ।

अब छोराको शव उठाउने र नेपाल ल्याउने सल्लाह भयो । त्यतिबेला विष्णुले भनिदिए, ‘शव ल्याउनुपर्दैन । खरानी पार्सल गरेर पठाइदिनुहोस्, बाग्मतीमा बगाइदिन्छु ।’

यति सुनाइसकेर विष्णु एकछिन रोकिन्छन् र बोल्छन्, ‘म व्यवसायमा सफल मान्छे । पैसाको कुनै दुःख थिएन । तर, छोरा उता सडकमा सुतिरहेको छ । मैले लास उठाउन सकिनँ । म कस्तो लाचार ! छोराको लास एक/दुई डलर चन्दा उठाएर जलाए ।’

आठ दिनमा घरमा बलरामको खरानी आइपुग्यो । विष्णुले एकपटक मज्जाले खरानी सुँघे र बागमतीमा बगाए ।

श्रीमतीले मोडिदिएको बाटो
माइलो छोरा बलरामको अन्त्येष्टिको १३ दिने कर्म सकियो ।

विष्णुकै भाषामा भन्ने हो भने अर्को दिन उनको ‘डेन्जर प्लान’ थियो । त्यसदिन विष्णु र श्रीमती टीभी हेरिरहेका थिए, जहाँ गोर्खाको दुर्घटनाको समाचार आइरहेको थियो । उनीहरुले टीभी के हेर्नु, आफ्नै दुई छोराहरुलाई हेरिरहेका थिए, मनको आँखाले ।

श्रीमतीले विष्णुलाई भनिन्, ‘हेर त बुढा ।’

दुर्घटनापछि छोराको मृत्यु भएको थियो । मेरुदण्ड भाँचिएका बाबाले बलौना गर्दै थिए, ‘मलाई मेरो छोरासम्म पुर्‍याइदिनु न !’

विष्णुकी श्रीमतीले भनिन्, ‘अब हामीले छोराहरुका नाममा हस्पिटल बनाइदिऔँ ।’

श्रीमतीको यो प्रस्तावले विष्णुमा १८० डिग्रीको परिवर्तन आयो । नत्र त्यो दिन उनले गाडीमा राखेर आफूसहित भोटेकोशी नदीमा खसाउने सोच बनाए थिए ।

त्यो दिनदेखि विष्णु गौतम पर्यटन व्यवसायी रहेनन् । धन कमाउन हिँडेका विष्णुलाई अब पैसा फिक्का लाग्न थाल्यो ।

अर्को दिनदेखि उनले पत्रिकामा विज्ञापन छपाउन थाले- ‘रिसोर्ट बिक्रीमा !’

विष्णुले ट्राभल पनि बाँकी राखेनन् । रिसोर्ट र ट्राभल सबै बेचिदिए ।

त्यसपछि विष्णुको बाटो मोडियो । उनी अर्कै बाटोमा हिँड्न थाले । बाटो आफैं तय गर्छु भनेर पनि हुँदो रहेनछ । परिस्थिति र समय नै बाटो बनाइदिँदो रहेछ ।

विष्णुकी श्रीमती लक्ष्मीले परिवारको ‘च्याप्टर क्लोज’ हुनबाट बचाएकी थिइन् । त्यसपछि विष्णुले ‘लक्ष्मी-कुमार-बलराम ट्रस्ट’ दर्ता गरे । र,उनले संकल्प गरे- ‘अब म संसारभरि बुट्टा-बुट्टामा कुमार बलराम जन्माउँछु ।’

विष्णु काभ्रेमा पुगे । त्यहाँ स्कुल बनाइदिए । अर्को स्कुलमा लाइब्रेरी बनाइदिए । कुनैमा ट्वाइलेट बनाइदिए । इन्द्रावती सामुदायिक सेवा केन्द्र स्पताल बन्द थियो, त्यसलाई सञ्चालनमा ल्याइदिए । रोड सेफ्टीको अभियान सञ्चालन गरे । त्यसका लागि १२ कक्षाका बच्चाहरुलाई मापसेपछि मोटरसाइकल निषेधका लागि लविङ गरे । रेडियोहरुमा कार्यक्रमहरु प्रायोजन गरे । तिलगंगा आँखा अस्पतालसँग जोडिएर गरिवहरुको निशुल्क उपचार र हेल्थ शिविरहरु सञ्चालन गरे ।

विष्णु र लक्ष्मीले गरेका सामाजिक कामहरु लेखेर साध्य छैनन् । उनीहरु अहिले व्यवसायीबाट फूलटाइमर समाजसेवी बनेका छन् । यो विष्णुको कल्पना भन्दा बाहिरको कुरा थियो ।

समाजसेवी पनि यस्तो समाजसेवी कि कुनै युवा मलाई गाह्रो छ भन्दै आयो भने १०-२० हजार तत्काल हातमा हालेर पठाइदिन्थे । उनी सम्झन्छन्- ‘त्यसरी मैले एकैजनालाई एक लाख रुपैयाँसम्म पनि दिएको छु । मलाई कसैको दुःखले, अझ युवाहरुको दुःखले छोइहाल्थ्यो’, विष्णु भन्छन्, ‘कति रकम त त्यसरी नै बाँडेर सक्काएँ ।’

चेपाङ बस्तीको यात्रा !
०६८ सालको एक दिन विष्णु पत्रिका पढ्दै थिए । उनका आँखा एउटा समाचारमा अडिए- ‘खाद्यान्नको अभावले विषालु च्याउँ खादा एकै परिवारका ८ जनाको मृत्यु ।’

यो समाचारले उनलाई रन्थन्यायो । अकस्मात विष्णुलाई चेपाङ गाउँ पुग्ने हुटहुटी जाग्यो । ‘मेरो मनले देख्यो भने त्यो काम गर्न कसैले पनि रोक्न सक्दैन’, विष्णु भन्छन् ।

त्यसपछि उनी लागे चितवनको कान्दा । त्यो ०६९ साल जेठ २८ गतेको दिन थियो । चितवनको भण्डारा पुगेपछि कच्चीबाटो दुई घण्टा गाडीमा सवार गरे । त्यसपछि पैदल आठ घण्टा हिँड्नुपर्दोरहेछ ।

उनी कच्ची बाटो उक्लँदै थिए । एकजना महिला आरुको चिचिला टिपेर खाँदै थिइन् । उनले बोलाए र सम्झाए, ‘ए लाटी यस्तो चिचिला पनि खान हुन्छ ? रगत पर्छ, पेट दुख्छ ।’

ती महिलाले जवाफ फर्काइन्, ‘के खाने त सर !’

विष्णुले भने, ‘तल आउ, म दिन्छु खाद्यान्न ।’ उनी एकै सासमा विष्णु नजिक आइपुगिन् ।

ती महिला काँपिरहेकी थिइन्, ओठ कलेटी परेको थियो । उनको अनुहार आकाशमा लागेको कालो बादलजस्तै थियो । विष्णुले फेरि सोधे, ‘तिम्रो घरमा साँच्चिकै केही छैन ?’ महिलाले टाउको मात्र हल्लाइन् ।

विष्णु एक्लै थिएनन्, टिम नै लगेर गएका थिए । उपसचिवदेखि, नर्स डाक्टरसम्म थिए । सबै टोली ती महिलाको घरमा पुग्यो ।

झिक्राले बारेको, नाम मात्रैको घर थियो । विष्णुुले ढोकाबाट कुप्रिपरेर छिर्दै भने, ‘तिम्रो घरमा के-के छ, हेरौँ त ?’

महिला बोलिन्, ‘भित्र जान मिल्दैन सर ! त्यहाँ सानो मान्छे छ ।’

विष्णु : ‘कस्तो सानो मान्छे ?’

महिला : पाँच दिनको सानो मान्छे ।

विष्णु : कसले पाएको ?

महिला : मैले पाएको सर !

विष्णुलाई तीन वर्षसम्म समाजसेवामा लाखौं रुपैयाँ खर्च गरेको निरर्थक लाग्यो । विष्णुले केही खाद्यान्न दिए र फेरि उकालो उक्लिए ।

अलि माथि पुगेपछि १७ वर्षीय जस्तो लाग्ने युवक देखिए । उनको हरमा कुनै कपडा थिएन । विष्णुले वीन चिटर ज्याकेट खोलेर फालिदिए । र, सोधे, ‘कपडा किन नलगाएको ? कपडा छैन ?’

युवक, ‘छ नि सर ! धोएर सुकाएको छु ।’

उनीसँग कपडाको नाउँमा त्यही एक थान मात्र रहेछ ।

विष्णु अवाक् थिए । र, पनि सोध्नकै लागि सोधे, ‘नलगाएर किन धोएको त ?’

‘भोलि बिहे छ सर !’

पत्याउनै गाह्रो युवकको जवाफले विष्णुको दिमागले काम गर्न छोड्यो । आँखाबाट आँशु बगाए ।

योभन्दा बढी पागल हुन सायद उनी सक्थेनन् । त्यसैले सिधै स्कुल पुगे । कान्तेश्वरी राष्ट्रिय प्राथमिक विद्यालय पुग्दा साँझको आठ बजेको थियो ।

अर्को दिन हेल्थ क्याम्प शुरु भयो । विष्णु गाउँलेहरुलाई पढ्न थाले । त्यतिबेला सितबहादुर प्रजाले विष्णुसँग भनेका थिए, ‘ओढ्ने ओछ्याउने छैन । अहिलेसम्म नुन खाएको छैन ।’

त्यो गाउँमा टुकी पनि बाल्थेनन्, कहाँको पैसाले मटि्टतेल ल्याउने । उनीहरुले गिठ्ठा भ्याकुर खाएर दिन घुँचट्थे । पाखो बारीमा छरेको मकैले तीन महिना पनि पुग्थेन । भाँडाकुँडा थिएनन् । पातमा खान्थे । महिलाको हरमा कपडाको नाममा डोरो मात्र थियो । बच्चाहरुको त के कुरा गर्नु !

घर देखेपछि विष्णुले एकजना बृद्धलाई सोधेका थिए, ‘तपाईहरुको घरमा पानी चुहिदैन ?’

वृद्ध : ‘चुहिँदैन सर ! पानी नपरेको बेला चुहिँदैन । हाहाहा…. ।’

ती बृद्धको हाँसो खिल बनेर विष्णुको मनमा गाडियो । अभावका बीचमा पनि मुस्काउन सक्नेहरुबाट विष्णुले धेरै सिके । जुन उनले ठेलीका ठेली किताब पढेर सिक्न सकेका थिएनन् ।

विष्णु भन्छन्, ‘सन्तुष्टि के हो ? मैले त्यहाँ गएर सिकेँ ।’

जब ज्ञानलाई व्यवहारमा उतारिँदैन, सिकाई सिकाई रहँदैन । विष्णुले गाउँलेलाई भने, ‘म तपाईहरुलाई घर बनाइदिन्छु । घर बनाउने सामग्री र चिउरा, चामल दिन्छु । तपाईहरुले आफैं मेहनत गर्नुपर्छ ।’

चितवनको कान्दास्थित चेपाङ बस्तीमा निर्माण गरिएको छात्राबास ।
त्यहाँ उनले ३२ घर बनाइदिए । ४२ हजारको लगानीमा ।

त्यसपछि उनी असोजमा पुगे । उत्तिकै पुगेनन्, विद्यार्थीका लागि ड्रेस, कम्बल, जुत्ता, व्याग र ठूलाहरुका लागि पनि सकेन्ड हेन्ड कपडा, चामल बोकेर पुगे । र, दशैँ गाउँलेहरुसँगै मनाउने प्रतिवद्धता जनाएर फर्किए ।

दशैँ पनि आयो । गाउँलेकै डिमान्ड अनुसार बंगुर, काटियो, राँगो काटियो । खाना पाक्यो । तर खानेबेलामा थाल भएन । कसैले पातमा त कसैले टिनको पाता काटेर खाए ।

विष्णुले ०७१ को दशैँ गाउँलेहरुसँग मनाए ।

त्यतिबेला एकजना बच्चा विष्णुको काखमा लड्न आइपुगे । विष्णुले च्याप्पै समाते । उनको शरीर बिरामीले थलिएको थियो । अनायास विष्णुका आँखामा पोखरी जम्यो, ‘मलाई आफ्नै छोरा समातेको अनुभुति भयो ।’

र, उनले मनमनै प्रतिवद्धता गरे, म यिनीहरुको जीवन परिवर्तन गर्छु । त्यसपछि विष्णुले ‘कान्ता रुपान्तरण प्रोजेक्ट’ सञ्चालनमा ल्याए ।

त्यसैको अर्को दिन कसैले १० हजार रुपैयाँ ऋण तिर्न नसकेर रहेको ५४ रोपनी जग्गा विष्णुले फेला पारे । उनले भने, ‘म ऋण तिरिदिन्छु र वर्षको २५ हजार पनि दिन्छु । २० वर्षपछि सबै सम्पत्ति तपाईकै हुन्छ । कृपया यो जग्गा हामीलाई दिनुहोस् ।’

त्यहाँ विष्णुले आवासीय छात्राबाससहितको विद्यालय सञ्चालन गरे । त्यसका लागि १४ वटा कजेट तयार पारे । स्कुल नगएर जंगल जाने, दिसापिसावका लागि खोल्सा पुग्ने बच्चाहरुलाई उनले ट्रयाकमा ल्याए ।

अहिले उक्त बस्तीमा विष्णुले ७५ वटा घर बनाइदिसकेका छन् । राष्ट्रिय स्तरको कराँतेमा मेडल जित्ने खेलाडी उत्पादन भएका छन् । आवासीय छात्राबासमा १० जनाको भान्सा पाक्छ । तर, त्यहीँ फलेको तरकारी प्रयोगमा छ । ७, ८ र ९ कक्षाका विद्यार्थीले दिनमा एक पिरियड खेतमा प्राक्टिकल गर्नुपर्छ ।

विष्णुको बुझाइमा गाउँमा त्यति ठूलो परिवर्तन त आएको छैन । तर, युवाहरु गाउँबाट बाहिर निस्किएका छन् र गाउँमा पैसा पुग्न थालेको छ । भलै, गाउँलाई एउटा पर्यटकीय क्षेत्र बनाएर त्यहीँ उद्यमी बनाउने विष्णुको सपना भने पूरा भएन ।

अहिले मासिक साढे ८ लाख खर्च छ कान्दामा । त्यसका लागि कहिले विष्णुले सहयोगको आह्वान गर्छन् त कहिले आफ्नै अमेरिकामा रहेकी छोरीले सहयोग गर्छिन् । कहिले उनी आफैं विदेश जान्छन् र केही रकम जुटाएर ल्याउँछन् ।

कान्छो छोरा पूर्णकालीन रुपमा विष्णुसँगै काम गर्छन् ।

विष्णुले ०७२ सालको भूकम्पमा पनि उत्तिकै सक्रियताका साथ काम गरे । धादिङ, नुवाकोट, सिन्धुपाल्चोकमा लाखौँको कपडा र खाद्यान्न सहयोग गरे । काभ्रेको शिवालयमा ४४ घर बनाइदिए ।

तर, दुःखद के भने उनले बनाएका आधा घरमा अहिले मान्छे छैनन्, बसाइँ सराइँ गरेका छन् । ती घरमा पनि अहिले १० वर्ष लिजमा लिएर उनले होस्टेल शुरु गरिएको छ । जहाँ कान्दाका ३० जना बालवालिकालाई ल्याएर पढाइएको छ ।

विष्णुले दुई करोडभन्दा बढी रकम समाजसेवामै सके । उनीसँग अहिले आफ्नै प्रशस्त धन छैन । तर, उनको मनमा दुई छोरा गुमाएको विक्षिप्तता पनि छैन । बरु, थुप्रै छोराहरुसँग रहेको अनुभूति हुन्छ ।

यदि विष्णु व्यवसायी नै रहन्थे भने !

उनी भन्छन्, ‘मसँग पैसा हुन्थ्यो होला । तर, यो सन्तुष्टि कहिँ पनि पाउने थिइनँ । यो पैसाले किन्न सकिने सन्तुष्टि होइन ।’
अनलाइनखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *