नेपाली समाजमा नागरिक शिक्षाको खाँचो

डा. देवीप्रसाद आचार्य
नागरिक शिक्षा समाजका विभिन्न तह, वर्ग र क्षमताका नागरिकलाई आफ्नो काम, कर्तव्य, अधिकारको अध्ययन गराउने शास्त्र हो । नागरिक शिक्षाले दूरदराजदेखि शहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित, सुकिलामुकिला लगायतका नागरिकलाई समाजमा आपूmले पालना गर्नुपर्ने सामाजिक कर्तव्य, सामाजिक दायित्व एवं सचेत नागरिकले सिङ्गो मुलुकका लागि गर्नुपर्ने जिम्मेवारीको बोध गराउँछ । यसरी हेर्दा जसरी नर्सरीमा मलजल गरेर हुर्काइएको बिरुवाले फलफूल र फाइदा दिन्छ त्यसरी नै नागरिक शिक्षाको तत्वज्ञानले प्रशिक्षित समाजले राष्ट्रलाई योगदान दिनसक्छन् भन्ने कुरा बुझ्नुपर्छ ।
जागरुक र अनुशासित नागरिक लोकतन्त्रका आधार हुन् । हाम्रो देशको सन्दर्भमा सङ्घीय गणतन्त्र नयाँ राजनीतिक अभ्यास हो । केन्द्रीय, प्रादेशिक र स्थानीय राज्य प्रणालीको संरचना, ढाँचा र यसको ज्ञान हरेक जनताले बुझ्न जरुरी हुन्छ । यसका साथै प्रदेशमा व्यवस्था गरिएको सङ्घीय व्यवस्थापिका, कार्यपालिका र प्रादेशिक न्याय व्यवस्थाको ज्ञान र यी निकायहरुको काम, कर्तव्य र जवाफदेहिताबारे नागरिक सचेत हुन आवश्यक हुन्छ । यस अर्थमा संविधानले सुनिश्चित गरेका नागरिक हक, अधिकार, नीति–नियमहरुको जानकारीका लागि नागरिक शिक्षाको ज्ञान महŒवपूर्ण ठानिन्छ ।
प्रसिद्घ विद्वान् स्मिथले नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो भनेका छन् । यसैगरी शिक्षाशास्त्री गुटम्यानले प्रजातान्त्रिक देशका जनताले राजनीतिक ज्ञानबाट प्रशिक्षित हुन नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ भनेका छन् । यसरी हेर्दा नागरिक शिक्षालाई राजनीतिक शास्त्रको ज्ञानको स्रोतका साथै प्रजातान्त्रिक व्यक्ति र व्यक्तित्व निर्माणको माध्यमका रूपमा लिन सकिन्छ । नागरिक शिक्षाले राज्यको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अन्तर्गतका विधि विधानको ज्ञानको क्षेत्रलाई पनि समेट्छ । लोकतान्त्रिक देशका नागरिक संविधानमा लेखिएका नियम, कानुन र यसले व्यवस्था गरेका मौलिक हक अधिकारमा सुसूचित हुन आवश्यक हुन्छ । नेपालको संविधानले विभिन्न जातजाति, समुदाय, दलित, महिला र फरक क्षमता भएका नागरिकका अधिकारलाई सुनिश्चित गरेको छ । जनतालाई यी संविधान प्रदत्त हक, अधिकार र सुविधाको जानकारी दिन नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ ।

देशको कानुन, नीति र नियमको जानकारीका साथै आफ्नो अधिकार र कर्तव्यको बोध भएको समाज निर्माण गर्न नागरिक शिक्षाको महŒवपूर्ण भूमिका हुन्छ । नागरिकको शैक्षिक चेतनाको स्तर उच्चतहमा विकास नभई सकेको हाम्रो जस्तो मुलुकमा नागरिक शिक्षाले सचेत समाज निर्माण गर्न सहयोग गर्छ । अहिले नेपाल लोकतान्त्रिक राज्य व्यवस्थाको खुला समाजमा प्रवेश गरेको छ । समाजमा राज्यका कमी कमजोरीप्रति टीकाटिप्पणी हुने गरेका छन् । नागरिक कतिपय राष्ट्रिय सरोकारका विषयमा बुझेर वा नबुझेर पनि अस्वस्थ आलोचनामा उत्रने गरेको पाइन्छ । कुनै पनि मुलुकमा विकास हुन जिम्मेवार राज्य र अनुशासित, कर्तव्यनिष्ठ एवं कर्मशील जनताको आवश्यकता पर्छ । यसर्थ राजनीतिक व्यक्ति, व्यक्तित्व र आमजनतालाई अनुशासित, चेतनशील र कर्तव्यनिष्ठ बनाउन नागरिक शिक्षाको ज्ञान आवश्यक ठानिन्छ ।

समाजमा शान्ति, सद्भाव, सहयोग र परोपकारी भावनाको विकासले मात्र सभ्य र सिर्जनशील समाजको निर्माण हुन्छ । लोकतान्त्रिक समाजमा आपसी सद्भाव, प्रजातान्त्रिक आचरण र सामाजिक दायित्वको बोध भएका नागरिक आवश्यक ठानिन्छ । अहिले हाम्रो सामाज आत्मकेन्द्रित उपभोगवादी चिन्तनले ग्रस्त छ । नागरिकमा प्रजातान्त्रिक आचरण, उदार व्यवहार र परोपकारी चिन्तनको विकास हुन नसक्दा लोकतन्त्रको अभ्यासमा बाधा व्यवधान देखापरेका छन् । राज्य र समाजबीच सुमधुर सम्बन्ध कायम हुन सकेको छैन । लोकतान्त्रिक संस्कृतिको विकास गर्न नागरिक शिक्षाले महŒवपूर्ण भूमिका निर्वाह भएकाले जनता नागरिक शिक्षाको ज्ञानले प्रशिक्षित हुन जरुरी हुन्छ ।

नेपाल बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुभाषिक समाज हो । यो विविधताभित्र नागरिकका आ–आफ्नै मूल्य, मान्यता, भाषा, संंस्कृति र संस्कार छन् । यी विविध मूल्य र मान्यताबीचको सामाजिक एकता नै आजको आवश्यकता हो । नागरिक शिक्षाको ज्ञानले समाजलाई सँगै बस्न, काम गर्न, एकले अर्काको सम्मान गर्न, हरेक जातजाति, भाषाभाषी र समुदायबीच सबैका सांस्कृतिक र सामाजिक मूल्य मान्यतालाई सामाजिक दबाबविना नै स्वतस्फूर्त रूपमा स्वीकार गर्नसक्ने क्षमता र उदार व्यवहारको विकास गराउन मद्दत गर्छ । अहिले हाम्रो देशमा भएको तीव्र राजनीतिक परिवर्तनले समाजलाई अधिकार–उन्मुख बनाएको छ । अधिकार र कर्तव्य एक सिक्काका दुई पाटाजस्तै भएकाले हरेक नागरिकले आफ्नो अधिकारको कुरा उठाउँदा कर्तव्यबोध गर्न जरुरी हुन्छ । यसर्थ समाजलाई अधिकार र कर्तव्यबारे प्रशिक्षित गराउन नागरिक शिक्षा आवश्यक ठानिन्छ ।

हाम्रो समाज अहिले सर्वहिताय र परोपकारी चिन्तनभन्दा बढी आत्मगत स्वसेवामुखी चिन्तनमा अभ्यस्त भएको देखिन्छ । घर, परिवारदेखि राष्ट्रिय जीवनका सामाजिक सम्बन्ध सद्भावमैत्री बन्न सकेका छैनन् । समाजका आदर्श भत्किएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थी नागरिक शिक्षाको ज्ञानबाट शिक्षित, दीक्षित र प्रशिक्षित हुने अवसरबाट वञ्चित छन् । विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तकमा नागरिक शिक्षाको विषयवस्तुलाई पर्याप्त मात्रामा समावेश गरेको पाइँदैन । आफ्ना छोराछोरीको शिक्षाका लागि आमाबुबाले ठूलो लगानी त गरिरहेका छन् परन्तु समाजमा आफ्नै सन्ततिबाट आमाबुबा अपहेलित हुने गरेका घटना आउने गरेका छन् । समाजमा पारिवारिक सम्बन्ध विच्छेदका घटना बढ्दैछन् । सामाजिक जीवनमा सहकार्य, सद्भाव, सहयोग जस्ता सुन्दर पक्ष कमजोर बनेका छन् । यस सन्दर्भमा समाजमा नागरिक शिक्षाको प्रशिक्षण वाञ्छनीय हुन्छ ।

नागरिक शिक्षा संचेतनाको सशक्त माध्यम मात्र होइन समाज परिवर्तनको संवाहक पनि हो । नागरिक शिक्षाले व्यक्तिको मानवीय व्यवहार र मनोवृत्तिमा परिवर्तन ल्याउन मद्दत गर्दछ । समाजमा विभिन्न आर्थिक, सामाजिक, राजनीतिक शैक्षिक स्तरका मानिसको बसोवास हुन्छ । यी विविध स्तरको अवस्था र चेतनाको आधारमा सामाजिक व्यवहार निर्धारण हुन्छ । समाजको स्वरूप निर्धारण हुन्छ । यो विविधतापूर्ण संरचना भएको सामाजिक आयामभित्र व्यक्तिका शील, स्वभाव, आचरण र सोचाइ पृथक्–पृथक् हुनु स्वाभाविक हो । यी विविध विचारको समायोजन गरी सामाजिक एकता र आपसी मेलमिलाप समाजको आवश्यकता हो । यस सन्दर्भमा व्यक्तिको सोचाइको दायरालाई फराकिलो बनाउँदै समाजमा रहेका बहुजातीय संस्कार, रीतिरिवाज, मूल्य र मान्यताबीच समायोजनकारी भूमिका निर्वाह गर्न नागरिक शिक्षाको चेतना महŒवपूर्ण ठानिन्छ ।

अहिले नेपाली समाज सामाजिक रूपान्तरणको सँघारमा छ । नागरिक शिक्षा व्यक्ति, समुदाय, समाज र सङ्घसंस्थाको सोचान्तरणको संवाहक र सामाजिक सम्बन्धको सेतु हो । सामाजिक रूपान्तरणका लागि व्यक्ति, समाज, राज्य र यसका संयन्त्र व्यावहारिक रूपमा नै लोकतान्त्रिक हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले आफ्नो अधिकार र कर्तव्यको कुरा गर्दा अरूको अधिकारको सम्मान गर्ने अक्कलको बोध गराइदिन्छ । यसका साथै नागरिक शिक्षा अन्तर्गतको विषयवस्तुका ज्ञानले व्यक्तिमा प्रजातान्त्रिक आचरण, अनुशासित व्यवहार, देशप्रति प्रेमभाव र मानवतावादी चिन्तनको विकास हुने भएकाले समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि नागरिक शिक्षाको ज्ञान आवश्यक ठानिन्छ ।
(लेखक शिक्षाविद् हुन् ।)गोरखापत्र बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *