आगलागीमा परेर तीनको मृत्यु

गोकर्ण दयाल
बैतडी । बैतडीको पुरचौडी नगरपालिकाको गिरिजाबगरमा रहेको एक छाप्रोमा बुधवार राती आगलागी हुँदा आमाबुवासहित ८ वर्षिय बालकको मृत्यु भएको छ । पुरचौडी नगरपालिका १ हाटको गिरिजाबगरमा छाप्रोमा बस्दै आईरहेका मजदुर करे लुहार (४५ वर्ष) उहाँकी श्रीमति बिन्द्रा लोहार र ८ वर्षिय बालक मनोज लुहारको जलेर मृत्यु भएको छ ।

स्थानीय पुरघाट प्रहरी चौकीका इन्चार्ज यदुबहादुर देउवाका अनुसार बाँसको भाटाले बनाईएको घरको छाप्रोमा राती १०ः ४५ बजे आगलागी हुँदा लुहार परिवारको जलेर मृत्यु भएको छ । “लाश चिन्नै नसक्ने गरि डढेको अवस्था भेटिएका छन्,” देउवाले भन्नुभयो । खाना खाएर सुतेको बेला आगलागी भएको हुनसक्ने प्रहरी चौकीका ईन्चार्ज देउवाले बताउनुभयो ।

घटनाको थप अनुसान्धान गर्न ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

पुरचौडी नगरपालिका ५ कुवाकोटका लुहार परिवार गाउँमा बस्ने घर नुहँदा बजारमा आएर दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएका थिए । बस्ने घर नहुँदा गिरिजाबगरमा बाँसको छाप्रो बनाएर बस्दै आईरहेको स्थानीयले बताएका छन् । श्रीमति सुस्त मनस्थितिकी भएको स्थानीयले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *